‘हादाका मात्सुरी’ मा १० हजार अर्धनग्न पुरूष सहभागी

प्रत्येक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबार मनाइने ‘हादाका मात्सुरी’ पर्व जापानमा यो वर्ष पनि मनाइएको छ । मेलामा हजारौँ अर्धनग्न पुरूषहरू सहभागी भएका छन् । ‘हादाका मात्सुरी’को अर्थ जापानी भाषामा ‘नग्न मेला’ हुन्छ ।

मेलामा सहभागीहरू चिसो पानीमा घण्टौँ दौडेर आफूलाई शुद्ध बनाउँछन् र मन्दिर प्रवेश गर्दछन् । साँझ परेपछि पुजारीले १०० मुठा लठ्ठी र दुईवटा ‘सिंगी’ भनिने लठ्ठी पानीमा फाल्छन् । त्यसपछि उपस्थित अर्धनग्न युवाहरू लठ्ठी खोज्न तछाँडमछाड गर्छन् । लठ्ठी भेट्नेलाई वर्षभर सफलता प्राप्त हुने विश्वास गरिन्छ ।



होंशु द्वीपको दक्षिणी भागमा पर्ने साइदाइजी कानोनिन मन्दिरमा लाग्ने मेलामा यो वर्ष करिब १० हजारले सहभागिता जनाएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । मेलामा सहभागी हुने पुरूषहरूले जापानी भाषामा ‘फुन्डोसी र ‘ताबी’ भनिने वस्त्र मात्र लगाउँछन् ।

५ सय वर्ष पुरानो भनिएको यो पर्वमा सहभागी हुन विदेश पुगेका जापानीहरू समेत आउने गर्छन् । यस पर्वलाई युनेस्कोले सन् २०१६ मा महत्त्वपूर्ण जीवन्त लोकसांस्कृतिक सम्पत्तिमा सूचीकृत गरेको छ । यस्तै किसिमका मेलाहरू जापानका अन्य स्थानहरूमा पनि सञ्चालन हुने गरेको छ ।

सम्बन्धित समाचार