‘सेन्टी भाइरस’ को ‘ए नि लै’ गीत सार्वजनिक

‘कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा सुशान्त गौतमको गायन छ । गीतमा उनी आफैंले संगीत भरेका छन् । गीतको शब्द हर्क साउदले सिर्जेका हुन् ।

श्रीमान्-श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्मको केन्द्रिय भूमिकामा छन् ।



फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा निर्माण भएको फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । यही शुक्रवारबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’ को बुधवारबाट मल्टीप्लेक्समा एडभान्स बुकिङ खुल्ला भैसकेको छ ।

सम्बन्धित समाचार