भारतले बनायो विश्वकै ठुलो क्रिकेट मैदान, कस्तो छ मोटेरा स्टेडियम ?

भारतमा विश्वकै सबैभन्दा ठुलो क्रिकेट स्टेडियम बनेको छ । एक लाख १० हजार दर्शकले प्रत्यक्ष हेर्न सक्ने ‘मोटेरा स्टेडियम’ गुजरात राज्यको राजधानी अहमदावादमा निर्माण सम्पन्न भएको छ ।

यो स्टेडियमको अहिले चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण पनि बढेको छ । अर्को साता भारत भ्रमणमा आउन लागेका ट्रम्पले अहमदावादको यो स्टेडियममा उपस्थितहरुलाई सम्बोधन गर्ने बताइएको छ । यस अघि स्टेडियमको उद्घाटन नै ट्रम्पले गर्ने बताइएकोमा स्थानीय मिडियाहरुले स्टेडियमका अधिकारीहरुलाई उदृत गर्दै ट्रम्पले स्टेडियम उद्घाटन भने नगर्ने बताइएको छ ।



२४ र २५ फेब्रुअरी ट्रम्पले भारतमा बिताउँदा अहमदावादमा भने करिब ३ घण्टा मात्र बिताउने बताइएको छ । ट्रम्पसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदावादको एयरपोर्टदेखि स्टेडियमसम्मको २२ किलोमिटर रोड शो समेत गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कस्तो छ मोटेरा स्टेडियम ?

अहमदावादमा सम्पन्न भएको मोटेरा स्टेडियम सर्दार वल्लभ भाइ पटेल स्टेडियमको ६३ एकड जमिनमा लगभग ७५० करोड भारतीय रकम खर्च गरेर तयार भएको हो । यो स्टेडियम बनाउन लगभग ४ बर्षको समय लागेको छ ।

एक लाख १० हजार दर्शक क्षमताको यो स्टेडियम अहिलेसम्मको अस्ट्रेलियामा भएको मेलवर्न क्रिकेट स्टेडियमभन्दा पनि ठुलो भएको दाबी गरिएको छ । मेलवर्न क्रिकेटग्राउण्डको दर्शक क्षमता एक लाख रहेको छ ।

यस स्टेडियममा ११ किसिमका पिच बनाइएको छ । यस मैदानको तल बर्षाको पानीको निकासको अत्याधुनिक प्रणाली बनाइएको छ जसको सहयोगले बर्षा भएको बेला मैदान आधा घण्टामा नै खेल्नको लागि तयार गर्न सकिन्छ ।

स्टेडियममा करिब ३ हजार कार र १० हजार भन्दा बढी दुई पांग्रे सवारी साधन पार्किंग गर्न सकिने बताइएको छ । यस स्टेडियममा तीन प्राक्टिस र एक इन्डोर एकेडेमी रहेको छ । अहमदावादको मोटेरास्थित यस स्टेडियममा यस अघि ५४ हजार दर्शकको क्षमता रहेको थियो । यस अघि यस स्टेडियमलाई सन् १९८२ मा निर्माण गरिएको थियो । त्यो समय गुजरात सरकारले यो स्टेडियम निर्माणमा ५० एकड जमीन निशुल्क दिएको थियो । सन् १९८३ देखि यस मैदानमा अन्तर्राष्ट्रिय खेलहरु हुदै आएका छन् । यो मैदानलाई २०१५ देखि बन्द गरिएको थियो भने यस मैदानमा अन्तिम खेल २०१४ नोभेम्बरमा खेलिएको थियो ।

यो मैदानसँग कैयौ यादगार खेलहरु जोडिएका छन् । यस मैदानमा सुनिल गावस्करले टेस्ट क्रिकेटमा आफ्नो १० हजार रन पुरा गरेका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यस मैदानमा आगामी आइपिएलका खेलहरु संचालन गर्ने बारे योजना बनाईरहे पनि कहिले देखि यस मैदानमा अन्तर्राष्ट्रिय खेलहरु हुन्छन् भन्ने बारे केही बताएको छैन ।

सम्बन्धित समाचार