‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।

होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवं उत्तरवैदिक कालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ ।



जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि, मिथि, शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानको योग, तप, ज्ञान र दर्शनले यो क्षेत्र सुसंस्कारित रहेको छ । सो समयमा विचार विमर्श, बैठक र सम्मेलनका माध्यमले चिन्तन, हास–परिहास हुने गरेको थियो ।

विदुषी विद्युत्मा र महामुर्ख कालिदासको वैवाहिक सम्बन्धका दृष्टान्त पनि मिथिलाञ्चलमै रहेको छ । विद्वानबीच शास्त्रका बारेमा चिन्तन, विवाद र समाधानको केन्द्रका रूपमा पनि यो ख्याति पाएको देखिन्छ । सोही भावभूमिमा विद्वानले आफूमा महामूर्खको भाव राख्ने, सभ्यता, संस्कृतिको रक्षा गर्ने, भाषा र कलालाई अभियानका रूपमा लिने, धरातीय अवस्थाको बोध गराउने प्रतीकका रूपमा महामूर्खको उपाधिले निरन्तरता पाएको बताइन्छ ।

महामूर्ख उपाधिमा सम्मान, अभियान र व्यङ्ग्य समाहित देखिएको छ । मिथिलावासी विद्यापे्रमी रहेका तथा यहाँ विद्वानको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ । महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन् । हुन त समान्यतः महामूर्खको उपाधिले ग्लानि र हीनताबोध हुनुपर्ने हो तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

यसपटक २४औँ महामूर्ख उपाधिका लागि कुन क्षेत्रका व्यक्ति हकदार हुनुहुन्छ भन्ने प्रश्नमा संयोजक शशिले नाम आउनेक्रम जारी छ भने । परिषद्ले यही फागुन २५ गते होरी गायन प्रतियोगिता र २६ गते महामूर्ख सम्मेलनको कार्यक्रम राखेको छ । सम्मेलनमा एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गरिनेछ । होरी गायन प्रतियोगितामा आठ जिल्लाका कलाकारको सहभागिता रहने बताइएको छ ।

सम्बन्धित समाचार