अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका क्रममा गुजरातको अहमदाबाद पुगेका छन् । प्रथम महिला मेलानिया ट्रम्पका साथ ट्रम्प केही बेर अघिमात्रै एयर फोर्स वानबाट अहमदाबाद ओर्लिएका हुन् ।
ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । विमानस्थलमा ट्रम्पको स्वागतमा शंख र ढोल बजाइएको थियो । करिब एक हजार कलाकारहरुले पारम्परिक नृत्य प्रस्तुत गरेका थिए ।
हाल अहमदावादको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । ठाउँठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ भने अमेरिकी सुरक्षा एजेन्सीका व्यक्तिहरुको उपस्थिति बढेको छ । अहमदावादमा ट्रम्पको सवारी हुने सडकहरु सजाइएको छ । विभिन्न स्थानमा ट्रम्प र मोदीका फोटोहरु टाँगिएका छन् ।
विमानस्थलबाट निस्किएपछि अहमदावाद शहरमा मोदीको नागरिक अभिनन्दन गरिनेछ । विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म ट्रम्पको रोड शो हुनेछ । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । विमानस्थलबाट ट्रम्प पहिले साबरमती आश्रम जानेछन् । त्यहाँ केहीबेर बिताएपछि ट्रम्प मोटेरा स्टेडियमका लागि रोड शोमा सरिक हुनेछन् । करिब २२ किलोमिटरको रोड शोमा सडक वरिपरि भारतीय संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ ।
ट्रम्पको स्वागतमा मोटेरा स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना गरिनेछ । यो कार्यक्रमलाई भारतकै हालसम्मको भव्य कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा विभिन्न राज्यका संगीतकारहरुले गीत प्रस्तुत गर्नेछन् । कैलाश खेरले सूफी गीत प्रस्तुत गर्ने बताइएको छ । त्यसपछि दुवै देशका नेताले भारत अमेरिकाको सम्बन्धका बारेमा चर्चा गर्नेछन् । भाषणपछि ट्रम्पलाई गाडीमा नै स्टेडियम परिक्रमा गराइनेछ । उक्त स्टेडियम विश्वको सबै भन्दा ठूलो स्टेडियम हो ।
आज दिउँसै ट्रम्प र मेलानिया आगरा जानेछन् । त्यही उनीहरुले ताजमहलको भ्रमण गर्नेछन् । ताजमहलमा सूर्यास्त हेरेपछि साँझ उनीहरु दिल्ली प्रस्थान गर्नेछन् । मंगलवार भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ट्रम्पबीच भेटवार्ता हुनेछ । मेलानियाले दिल्लीका विद्यालयहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।