सडकमा बुट पालिस लगाउने सनी बने इण्डियन आइडल

आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको ‘इण्डियन आइडल’ को उपाधि सनी हिन्दुस्तानीले उचाले । उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते । सनीको जितले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा परिचय दिलाइदिएको छ।

यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग गर्नेछ । उनका अगाडि एउटा फराकिलो बाटो बनाइदिएको छ । तर यहाँसम्म पुग्न उनले गरेको संघर्ष सानो छैन । जिजीभिषाकै चर्को संघर्षकाबीच उनले आफूभित्र हुर्काएको गायकीले आज एउटा मूल्य पाएको छ । उनी यस संस्करणको उपाधिका दरा प्रतिष्पर्धी हुन भन्ने कुरा उनले अडिसनबाटै प्रमाणित गरिसकेका थिए।



अडिसनमै निर्णायकहरू नतमस्तक

‘हुन त बोल्न हुँदैन होला तर यस्तो लाग्यो अगाडि नुशरत साहब उभिनु भएको छ।’

११ औ संस्करणको इण्डियन आइडलमा सनी हिन्दुस्तानीलाई पहिलो पटक सुनेपछि शोका निर्णायकमध्येका एक अन्नु मल्लिकले दिएको प्रतिक्रिया थियो यो । अडिसनमा उनले चर्चित सुफी गायक नुशरत फतेह खानको ‘आफ्री आफ्री’ बोलको गीत गाएका थिए ।

अनुसँगै शोका अन्य दुई निर्णायक नेहा कक्कड र विशाल डड्लानी पनि उनको गायकी सुनेर नतमस्तक भए । गीत सुनेपछि उनीहरूले उठेर उनको गायकीलाई सम्मान गरेका थिए । अनुले बिना कुनै गुरू मोबाइलमा गीत सुनेकै भरमा संगीतको साधना गरेका उनलाई उनको स्वर सिकक्नेहरूको भन्दा कम नभएको थप प्रतिक्रिया दिएका थिए । ‘मैले सोचेकै थिएन कसैले यस्तो गीत गाउनेछ त्यो पनि प्रत्यक्ष’, अनुले त्यतिबेला भनेका थिए । यसैगरी नेहाले उनको प्रशंसाका लागि आफूसँग शब्द कम भएको बताएकी थिइन्।

‘मलाई घरघर गएर मेरी आमाले चामल मागेको एकदमै राम्रो लाग्दैन’, अडिसनमा उनले भनेका थिए । भटिन्डा पंजाबका सनी एउटा गरिब परिवारका सदस्य हुन् जसमाथि बाबुको छाया छैन । ३ दिदी बहिनी र आमासहितको परिवारले बाबुको निधनपछि छाक टार्न ठूलै संघर्ष गर्नुपर्‍यो ।

उनले आमालाई घरघरमा गएर आफूहरूको पेट भर्न चामल माग्थिन् । आफूहरूलाई त्यसरी हुर्काएको देखेका सनी ६ कक्षापछि पढाइ छाडेर बुट पालिस गर्न थालेका थिए । उनले बुट पालिस गर्नुको एउटै उद्देश्य थियो- पैसा कमाउने र आमालाई सजिलो पार्ने ।

शोमा गएपछि उनको चर्चा चुलिन थाल्यो। उनले शोका दौरान नै सिनेमामा गाउने अवसर पाए । उनले पहिलो ब्रेक इमरान हाशमीको ‘द बडी’ को लागि पाए भने दोश्रो मौका कंगना रनौतको ‘पंगा’ को लागि पाउ ।

शोको फाइनलमा अभिनेता आयुष्मान खुर्राना आफ्नो प्रदर्शनरतः ुशुभ मंगल ज्यादा सावधानुको प्रचारका लागि पुगेका थिए । उनले शो जित्नेलाई टि-सिरिजले बनाउने आफ्नो अर्को सिनेमामा गाउन मौका दिने घोषणा गरे । विजेता बनेका सनीलाई सो मौका पनि मिलेको छ ।

‘इन्डियन आइडल ११’  बनेसँगै भारतका साना शहरमा रहेर ठूला सपना देख्नेहरूका लागि सनी एउटा प्रेरणाका श्रोत बनेका छन्।

सम्बन्धित समाचार