क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिस बिरामी भएका छन् । उनी बिरामी हुँदा रोम बासिलिकाको कार्यक्रम रद्द भएको छ । उनले अन्य कार्यक्रमहरु आफ्नै निवासबाट गरिरहेको रोयटर्सले जनाएको छ ।
बिहान उनी बासिलिकाको सेन्ट जोनको लेटेरनमा जाने कार्यक्रम थियो । तर बुधबार नै रोमको एक चर्चमा बोल्दा उनलाई चिसोले छोएको बताइएको छ । उनले सो दिन कर्कश आवाजमा बोलेका थिए ।
‘बिरामीपछि उनलाई सान्टा मार्टामा बस्न अनुरोध गरिएको छ,’ उनका प्रवक्ता माट्टेओ ब्रुनीले भने, ‘बासिलिकाको कार्यक्रम रद्द भएपनि अरु प्रतिबद्धताहरु नियमित रुपमै अघि बढ्नेछ ।’
केही स्थानमा बुधबार हुने लेन्ट एस कार्यक्रम पनि रद्द गरिएको थियो भने उत्तरी इटालीमा कोरोनाभाइरसका कारण सीमित स्थानमा मात्रै कार्यक्रम गरिएको थियो ।
सेन्ट पिटर्स स्क्वायरमा बुधबार थुप्रैले मास्क लगाएका थिए भने पोप सहभागी भएको कार्यक्रममा एक जनाले मात्रै मास्क लगाएका थिए । सहभागी कार्यक्रममार्फत उनलाई कोरोनाभाइरस संक्रमण पो भयो कि भन्ने आशंका समेत गरिएको छ ।