चीनले पाकिस्तानमा करिब एक लाख हाँस पठाउने तयारी गरेको समाचार आएको छ । बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले पाकिस्तानमा हाँस पठाउने तयारी गरेको हो ।
एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २ सय भन्दा बढी सलह खान्छ । त्यसैले हाँस कीटनासक भन्दा प्रभावकारी बन्न सक्ने भएकाले पाकिस्तानमा हाँस पठाउन लागिएको हो ।
तुर अनुसन्धानकर्ताले सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । लाखौं सलहहरूले पूर्वी अफ्रिकामा पनि बालीनाली नष्ट गरिरहेका छन् । चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध लक्षित कार्यक्रम तयार गर्न विज्ञहरूको टोली पठाउन लागेको घोषणा गरेको हो ।
जजीयाङ् एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ अनुसन्धानकर्ता लु लीझहीले हाँसहरू ‘जैविक हतियार’ रहेको बताए । ‘एक दिनमा एउटा कुखुराले ७० वटा सलह खान सक्छ, त्यसको तुलनामा हाँसले तीन गुणा बढी सलह खान सक्छ,’ उनले भने ।
आगामी महिना चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा हाँसहरूसहितको परीक्षण सम्पन्न हुनेछ । त्यसपछि पाकिस्तानको सिन्ध, बलोचिस्तान र पन्जाब प्रान्तका सलहबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हाँसहरू पठाइने छ ।
हाँस पठाउने विषय यतिबेला चीनमा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । सामाजिक सञ्जाल वेबोका एक प्रयोगकर्ताले भनेका छन्, ‘गो डक। मलाई आशा छ कि तिमी जीवित फर्केर आउने छौं ।’ टोलीका एकजना सदस्य चाइना एग्रिकल्चर विश्वविद्यालयका प्राध्यापकले भने सलहको समस्या रहने सुख्खा जमिन भएको स्थानमा भने हाँसको प्रयोग अनुकूल नहुन सक्ने बताएका छन् । प्राध्यापक झाङ लोङले भने, ‘हाँसहरू पानीमा निर्भर हुन्छन्। तर पाकिस्तानका मरुभूमिमा तापमान निकै धेरै छ ।’
सन् २००० मा सलहसँग जुझ्न चीनले जिन्जियाङबाट सिन्जियाङ प्रान्तमा ३० हजार हाँस पठाएको थियो ।