कोरोनाका कारण अमेरिकामा पनि मानवीय क्षति, वासिङ्टनमा आपतकाल घोषणा

अमेरिकाले कोरोना भाइरस संक्रमणका कारण आफ्नो भूमीमा पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ । वासिङ्गटन राज्यमा स्वास्थ्य समस्या खेपिरहेका ५० बर्षीय एक पुरुषको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । चीनको उहानबाट फैलिएको कोरोनाले मानिसको ज्यान लिएपछि सो राज्यका गभर्नरले आपत्तकालिन स्थितिको घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको सम्भावित खतरासँग लड्न आफूहरु तयार रहेको दाबी गरेका छन् । शुरुमा चीनबाट शुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। बीबीसीका अनुसार अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।



यसअघि पनि कोरोना संक्रमण फैलने डरले अमेरिकाले चीन र इरानसँगको यात्रामा कडाइ गरेको थियो। कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गइसकेको छ भने ८६ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन्।

इरानमा कोरोनाभाइरसको संक्रमण भएका एकजना सांसद्को मृत्यु भएको छ । गत साता संसद्मा निर्वाचित मोहम्मद अली रामजानी दस्तकको मृत्यु भएको हो । उनलाई गतसाता मात्र कोरोनाभाइरसको संक्रमण लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरोनाभाइरसका कारण इरानमा हालसम्म २ सय १० जनाको ज्यान गइसकेको छ । त्यसबाहेक त्यहाँका उपराष्ट्रपतिसँगै उपस्वास्थ्यमन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार