एसीसी इस्टर्न टी-२० प्रतियोगिता अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । हङकङले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले १८.१ ओभरमा अल आउट हुँदै १११ रन मात्र बनाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ रन बनाए भने कुशल मल्लले १९ रन बनाए । त्यस्तै पारस खड्का ४, दिपेन्द्र सिंह ऐरी ५, पवन सराफ १, विनोद भण्डारी ५, आरिफ सेख १०, कारण केसी ७ रन, सन्दीप लामिछाने शुन्यमा आउट भएका थिए । त्यस्तै अविनाश बोहोराले १२ रन बनाए ।
हङकङका बलर हारुन मोहमदले ५ विकेट लिएका लिए । त्यस्तै अफताब हुसैनले ३ विकेट लिए भने एहसान खानले २ विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
हङकङका लागि निजाकत खानले ४८ रन बनाए भने हारून मोहमदले २७ रन बनाए । त्यस्तै शहिद वासिफले २६ रन बनाए भने मोहमद एइजाज खानले २९ तथा जेम्स जोनले १३ रन बनाए ।
नेपाली बलर सन्दीप लामिछाने र सुशान भारीले २-२ विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।