कोरोना भाइरसः ६४ देशमा संक्रमण, करिब तीन हजारको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर दुई हजार ९९० जनाको मृत्यु भएको छ । कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विश्वका ६४ मुलुकमा फैलिएको कोरोनाबाट चीनमा मात्र दुई हजार ८२४ जनाले ज्यान गुमाएका छन् ।

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ ।



चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ।

अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ।

यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस सङ्क्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन्।

सम्बन्धित समाचार