शरीर बाहिर कति समय जीवित रहन सक्छ कोरोना भाइरस ?

कुनै पनि वस्तुको दूषित सतहमा कोरोना भाइरस कति समयसम्म रहिरहन सक्छ भन्नेबारे धेरैको चिन्ता रहेको छ । यसैकारण चीनले संक्रमित क्षेत्रबाट आएका क्यास पैसा समेत नष्ट गर्ने भनेको छ । यस्तोमा वैज्ञानिकहरुले अन्य कोरोनाभाइरसको अध्ययन गरि यस सम्बन्धी विभिन्न जानकारी संकलन गरेका हुन् । मान्छेले हाँक्ष्यु गर्दा, खोक्दा, छुँदा लगायत धेरै अवस्थामा संक्रमित व्यक्तिबाट कोरोना भाइरस वस्तुहरुको सतहमा पुगेर त्यसलाई दूषित पार्न सक्छ ।

यसरी कोरोना भाइरस जनावरहरुमाझ सामान्य मानिने भाइरस हो जुन दुर्लभ अवस्थामा मात्र मान्छेमा सर्न सक्ने बताइँदै आएको छ । यसअघिका कोरोना, सार्स र मर्स पनि जीवजन्तुबाटै फैलिएका हुन् जुन काठ, फलाम वा प्लाष्टिक लगायत जस्तोसुकै सतहमा ‘डिस्इन्फेक्टेड’ अर्थात औषधिले सफा नगर्दासम्म अधिकतम नौ दिनसम्म रहन सक्ने पत्ता लगाइएको थियो । त्यसैले पनि प्रायः छोइरहनुपर्ने वा सम्पर्कमा आइरहने सतह नियमित सफा गर्ने गरेमा धेरै फरक पर्ने बताइएको छ । यसमा घरमै हुने ब्लिच लगायतका रसायनले एक मिनेटसम्म सफा गरेमा पनि किटाणु नष्ट गर्न सकिने सुझाव दिइएको छ ।



नयाँ रिसर्चका लागि पहिलेका कोरोना भाइरस सम्बन्धी प्रकाशित गरिएका २२ अध्ययनको विश्लेषण गरिएको थियो जसले नै यस नयाँ कोरोनाबारे पनि विभिन्न जानकारी प्राप्त गर्न मद्दत मिल्ने आशा गरिएको छ । अहिले उपलब्ध डाटाका आधारमा कोरोना चिसो र ओसिलो वातावरणमा लामो समय बाँच्न सक्ने पाइएको हो । यो नयाँ प्रजातिको कोरोना भएकाले पनि वैज्ञानिकहरुलाई यसबारे विस्तृत जानकारी हासिल गर्नमा कठिनाइ भइरहेको छ । त्यसैले कुनेपनि सतहको अवस्थाका आधारमा २ घण्टादेखि ९ दिनसम्म यो भाइरस रहिरहन सक्छ ।

तर केही प्रजातिका कोरोना भने ४ डिग्री तापक्रम भएमा २८ दिनसम्म पनि बाँचन सक्ने बताइएको छ । अर्कोतर्फ तीस देखि ४० डिग्रीको तातोमा भने यो शरीर बाहिर छोटो समय मात्र रहन सक्छ । यसमा अन्य भाइरससँग तुलना गर्दा मर्स भाइरस फलाम वा स्टिलको सतहमा २० डिग्रीको तापक्रममा ४८ घण्टा रहन सक्ने पाइएको छ भने टिजीइभी भाइरस चाहिँ २८ दिनसम्म बाँच्न सफल भएको हो । त्यस्तै सार्स भाइरस पनि ४–५ दिनदेखि तीन घण्टासम्म जिवित रहन सक्ने बताइएको छ । नोभल कोरोनामा पनि यिनै जानकारी लागू हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

सम्बन्धित समाचार