तिब्ररुपमा विश्वभर फैलिएको कोभिड नाइन्टिन अर्थात् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ सय ३२ पुगेको छ। हिजो मात्रै थप ६ सय २ जनामा संक्रमण भेटिएको छ। चीनमा मात्रै ४७ हजार २ सय २४ जना उपचार पछि घर फर्किएका छन्। विगत चौबिस घण्टामा चीनमा थप १ सय २५ जनामा संक्रमण रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।
संक्रमणको संख्या भने घट्दै गएको चिनियाँ अधिकारीको भनाइ छ। चीनमा हालसम्म मृत्यु हुनेको संख्या भने २९ सय ४४ जना पुगेको छ । कोरोनाको महामारी अहिले ६६ देश भन्दा बढीमा फैलिएको छ। विश्वभर संक्रमितको संख्या ९० हजार ९ सय २० रहेको र ४८ हजार १ सय २९ जना उपचारपछि घर फर्किएका छन् ।
चीन पछि सबै भन्दा बढी दक्षिण कोरियामा संक्रमित भेटिएका छन्। त्यहाँ संक्रमितको संख्या चार हजार ८ सय १२ पुगेको छ भने ३४ जनाले ज्यान गुमाएका छन्। इरानमा ६६ जनाले ज्यान गुमाइसकेका छन् भने इटालीमा ५२ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिका र जापानमा १२ जनाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरुका अनुसार राजधानी वासिंटन डिसीमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको र मृतकको संख्या ६ पुगेको छ।