कोरोना त्रास: कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन

शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन पनि भनेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई)हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।



नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिँदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विमानस्थलको जनशक्ति समेत दोब्बर पारिएको बताए । एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उनले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न शुरु गरिएको बताए ।

वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले नेपालमा चीन, जापान लगायत प्रभावित क्षेत्रका नागरिकहरु अहिलेपनि निर्वाध रुपमा आवत जावत गरिरहेको भन्दै आक्रोश पोखे । विभिन्न देशबाट नेपालीहरु पनि फर्किरहेको अवस्थामा बढी जनघनत्व भएको उपत्यकामा यसको संक्रमण फैलिए ठूलो रुप लिने उनको भनाइ छ ।

मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन् । ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दिर्घरोगीमा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुर्याउन पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार