के अब सिनेमा हल पनि बन्द हुन्छन् ?

नेपाल चलचित्र संघले सिनेमा हल बन्द गर्नुपर्ने अवस्था नरहेको बताएको छ । सिनेमा हल बन्द हुने हल्ला चलिरहेका बेला संघले हल बन्द नहुने बताएको हो ।

‘भोलि (बुधबार) संघको बैठक बसेर हलमा पनि सचेतना बढाउने, सतर्क हुने, माक्स लगाउने जस्ता कुरामा ध्यान दिन देशभरका सम्पूर्ण हललाई आग्रह गर्छौं,’ संघका अध्यक्ष मधुसुदन प्रधानले भने, ‘तर हल नै बन्द गर्नुपर्ने अवस्था आएको छैन । भोलिका दिनमा अवस्था भयावह भयो भने र सरकारले नै बन्द गर्न भन्यो भने मात्रै हो, होइन भने सिनेमा हल बन्द हुँदैनन् ।’



चलचित्र कम बनेको र रिलिज भएका चलचित्र पनि खासै नचलिरहेको अवस्थामा सिनेमा हल नै बन्द गर्नु उचित नहुने प्रधान बताउँछन् ।

कोरोनाको प्रभाव थप बढ्दै गएको अवस्थामा संघ तथा हल सञ्चालकले स्वयम् सिनेमा घर बन्द गर्दै सरकारलाई सहयोग गर्ने तर अहिलेकै अवस्थामा बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको चलचित्रकर्मीहरु बताउँछन् ।

अहिले नेपाली चलचित्र घरहरुमा नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शन भइरहेका छन् । यी दुबै चलचित्रले राम्रो बिजनेस गरिरहेका छन् । ‘छ माया छपक्कै’ पछि यी दुई नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेका हुन् ।

विश्वभर कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले सभा, सम्मेलन, भोजभतेर तथा सेमिनार नगर्न आग्रह गर्दै आएको छ ।

सम्बन्धित समाचार