इरानमा कोरोनाभइरसबाट दुई साताभन्दा कम समयमा ७७ जनाको ज्यान गइसकेको छ । धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।
इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए ।
पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’ लाई भने छाडिएको छैन । एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन् ।
ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ ‘सम्भवत: केही समयका लागि आज वा भोलि रिहा हुने’ बताएकी छन् ।
उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड-१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए ।
तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन् ।