कांग्रेसका सबै सभा सम्मेलन स्थगित, गाउँसम्म सतर्कता अभियान

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नहोस् भनी सतर्कताका लागि पार्टी भातृ संस्था परिचालन गर्ने भएको छ । बुधबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सो कुरा बताएका हुन् ।

कांग्रेस प्रवक्ता शर्माले कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरूमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको बताए ।



कोरोना संक्रमणको पूर्व सचेतनाका लागि नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको प्रवक्ता शर्माले बताए ।

सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रूपले लिएर सरकारलाई कांग्रेसले खबरदारी गरिरहेको भएपनि जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई नेपाली कांग्रेसको सम्पूर्ण साथ रहने प्रवक्ता शर्माको भनाई थियो ।

सम्बन्धित समाचार