नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमतिका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशन गरी त्यस्तो कार्यप्रति संघको असहमति रहेको जनाउँदै यसले त्रिविको अधिकारमाथि हस्तक्षेप भएको ठहर गरेको छ ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वसन्त ढकाल र महासचिव केशवराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘मिति २०७६ फागुन १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति तथा यसअघि पनि विभिन्न मितिमा यस्तै अनुमतिहरू नेपाल सरकारको निर्णयले दिने गरेका निर्णयहरूप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘यसले क्याम्पस तथा विभागहरूलाई सम्बन्धन दिने तथा कार्यक्रम निर्धारण गर्ने गराउने विश्वविद्यालयको अधिकारमाथि प्रहार भएको र विश्वविद्यालयहरूप्रतिको स्वायत्तताको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई समेत ख्याल नगरिएको घटनाको रूपमा यस संघले लिएको छ । यस्ता कार्यक्रमहरू स्वीकृति दिन विश्वविद्यालयले विज्ञ टोलीबाट सम्बन्धित क्याम्पसको अध्ययन गराई उक्त टोलीको सिफारिसका आधारमा स्वीकृत दिने अन्तिम अधिकार त्रिविमा रहेको व्यहोरा त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियममा उल्लेख भएको र उक्त व्यवस्थालाई बेवास्ता गरी निर्णय गरिएकोमा आपत्ति जनाउँदै यस संघ नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।