पूर्वडीएसपी राजकुमार खिउजू बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो । ललितपुरकै एक युवतीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहेका बेला पूर्वडिएसपी खिउजूले ती युवतीलाई बलात्कार गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए ।
प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।
पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनले बताएकी थिइन् ।