कोरोना संत्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ । सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने तयारी गरेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल राजधानी बाहिर रहेका कारण यसबारे निर्णय गर्न केही ढिलाई भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी दिए । संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।



‘सरकारले नै आग्रह गरिसकेपछि हामी पनि त्यसलाई अनुसरण गर्छौं । अहिले हामीले तत्काल भइरहेका र हुने तय भएका खेलकुद गतिविधि तत्कालका लागि रोक्न संघहरुलाई परिपत्र गर्ने तयारी भएको छ,’ उनले भने,‘आज भोलिमै त्यो निर्णय सार्वजनिक हुन्छ । हामीले आन्तरिक रुपमा परिपत्र चाँही गरिसकेका छौं ।’

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् । राखेपको पत्रचार अनुसार अब चैत १ देखि हुने भनिएको एभरेष्ट प्रिमिय लिग (ईपीएल) समेत रोकिने उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।

त्यस्तै आजबाट शुरु हुने आहा रारा गोल्डकप, नेपालगञ्जमा जारी प्रधानमन्त्री महिला भलिवल प्रतियोगिता, माइभ्याली भलिवल प्रतियोगितासमेत रोकिने उनले बताए । तर आहारारा गोल्डकप भने आज मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

सम्बन्धित समाचार