कोरोना प्रभाव : नडराउँ तर सचेत बनौं

कोरोना भाइरसको संक्रमण विश्वभर अहिलेसम्म ८१ भन्दा बढी देशमा फैलिसक्दा ९५ हजार भन्दा बढी मानिस संक्रमित भएका बनेका छन् । कोरोनाको भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय पुगिसकेको छ भने २ सय ७६ जना संक्रमण भएर पनि निको भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिममा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना भाइरसका कारण सगरमाथा संवाद स्थगित गरिसकेको नेपाल सरकारले भ्रमण वर्ष–२०२० लाईसमेत सन् २०२२ मा सारिसकेको छ । सरकारले ठूला भेला, सभा नगर्न आग्रह गरेपछि राजनीतिक दलहरूले पनि आफ्ना पार्टीका कार्यक्रमहरू समेत स्थगित गरेका छन् ।



नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) मा कोरोना प्रभाव

कोरोना भाइरसको संक्रमणका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरिसकेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बुधबार नै सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा तत्तकालका लागि स्थगित गरिएको जानकारी गराएका हुन् । नेकपाको सर्कुलरपछि प्रदेश नम्बर एकमा हुन लागेको नेकपाका प्रशिक्षण तथा भेला पनि स्थगित भएको छ ।

नेकपाको सर्कुलरमा सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।

नेपाली कांग्रेसको अवस्था

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरू स्थगित गरेको छ । विश्वभरी नै कोरोना भाइरसको सन्त्रास फैलिएका बेला कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नगरिएसम्मका लागि स्थगित गरिएको हो । बुधबार पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारी लापरवाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई गम्भीर रूपमा लिएको जनाएको छ ।

जोखिमको सामना गर्ने राष्ट्रिय अभियानमा कांग्रेस सरकारसँगै रहेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरूको पालना र कार्यान्वयनमा सबैलाई आत्मसात् गर्नसमेत आग्रह गरे । यसका साथै, कांग्रेसले ‘शहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घरसम्म’ सतर्कता र सचेतनाको अभियान अघि बढाउने उनको भनाइ थियो ।

प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसका कारण भीडभाड जम्मा भएर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विहीबार एक सूचना जारी गर्दै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न आग्रह गरेको हो । यसका साथै काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगाएतका) कार्यक्रमको आयोजना नगर्न पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार