नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना भाइरस (कोभिड–१९) बारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद थापाले दर्ता गराएको सो प्रस्तावमाथि सांसदहरू सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्काले सर्मथन जनाएका छन् ।
प्रस्ताव दर्ता गर्दै थापाले कोरोनाभाइरसको संक्रमणबाट तर्सनेभन्दा पनि सचेत रहनुपर्ने बताएका छन् । कोरोना भाइरसबाट बच्न हामीले गर्नुपर्ने तयारीका लागि अहिले उचित समय भएको भन्दै थापाले भने ‘हाम्रा लागि यो गोल्डेन पिरियड हो । समयको सुविधा पाएका छौं । इरानले पाएन, कोरियाले पाएन । हामी यसलाई सदुपयोग गरौं ।’
कुन देशबाट आउन रोक्ने ?, कुन देशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने ?, कुन देशबाट आउनेहरूलाई ट्र्याकिङ गर्ने ? भन्ने सम्बन्धमा सरकार स्पष्ट हुनुपर्ने थापाको भनाई थियो ।
नेपालको भुगोलको कारणले मात्र विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नराखिकएको उल्लेख गर्दै थापाले विदेशबाट आएका नागरिकहरू कहाँ छन् सरकारलाई समेत थाहाँ नभएको बताए । टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचारहरू आएको भन्दै थापाले भाग्नुको कारण खोजिनुपर्ने र अस्पतालमा काउन्सिलिङको व्यवस्था गरिनु पर्ने बताए ।
स्वास्थ्यकर्मीलाई तालिम दिने, बिमा गराउने, र प्रोत्साहन भत्ता दिने विषयमा कन्जुस्याइँ नगर्न सरकारलाई आग्रह गर्दै थापाले उपप्रधानमन्त्रीको संयोजकत्वको समितिले कार्यायोजना सार्वजनिक गर्नुपर्ने र संसदले पनि विशेष समिति बनाएर अनुगमन गर्ने काम हुनुपर्ने कुरामा जोड दिए ।
सो प्रस्तावका सर्मथकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरसको त्रास नागरिकहरूमा रहेको भन्दै यसलाई हटाउन सबै एकजुट हुनुपर्ने बताए । मास्क लुकाउनेलाई दुई लाख जरिवाना मात्र नभएर जेल नै हाल्नु पर्ने उनको भनाई थियो । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने अल्पकालीन र दीर्घकालीन असरबाट नेपाल समयमै सचेत बन्नु पर्ने भन्दै उक्त प्रस्तावका सर्मथक राजेन्द्रकुमार केसीले सरकारले एक महिनाका लागि भोज भतेर भेला सम्मेलन गर्न नदिने निर्णय गर्नुपर्ने कुरामा जोड दिए ।