‘मिडियाले रक्सी खाए कोरोना ठीक हुन्छ भन्छ, मन्त्रीजी तपाई नै बताइदिनुस्, के खाए ठीक हुन्छ ?’

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मणलाल कर्णले कोरोना भाइरस भयानक रोग नभएको बताएका छन् । प्रतिनिधीसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद कर्णले सञ्चारमाध्यहरुले कोरोना भाइरसका बारे बढी नै प्रचार गरेको भए पनि यो त्यति भयानक रोग नभएको बताएका हुन् ।

सांसद कर्णले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आफ्नो तयारी के गरिरहेको छ त्यसका बारेमा ससंदमार्फत जनतालाई जानकारी दिनु पर्ने बताए ।



कोरोना भाइरसको मृत्युदर कम रहेको बताउँदै सांसद कर्णले भने ‘अहिले मानिसहरू जति त्रसित भए पनि त्यति त्रसित हुनुपर्ने अवस्था छैन । तर सर्तकता त हामीले रात दिन राख्नै पर्छ र यो रोग त्यति भयानक होइन भन्ने प्रचार पनि हामीले गर्नु पर्छ ।’ उनले अगाडि थपे ‘सोसल मिडियामा कसैले रक्सी खाए ठीक हुन्छ भन्छ । कसैले प्याज खाए ठिक हुन्छ भन्छ भने कसैले लसुन खाए ठीक हुन्छ भन्छ । मन्त्रीजी के खाए ठिक हुन्छ ? तपाईले नै बताइदिए सारा सोसल मिडाया समाप्त हुन्छन् ।’

कोरोना भाइरसबाट बच्न स्वास्थ्य मन्त्री मात्र नभएर सम्पूर्ण नेपाली जनता सबै राजनीतिक दल र सरकार एकताबद्ध भएर लाग्नु पर्ने र यसबाट कोही पनि त्रसित बन्न नहुने सांसद कर्णको भनाई थियो ।

सम्बन्धित समाचार