अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने दुवै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार ली काउन्टीका एकजना र सान्टा रोजा काउन्टीका अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि पश्चिमी अमेरिकाका वाशिंटन राज्यमा १४ जनाको मृत्यु भएको थियो भने क्यालिफोर्निया राज्यमा १ जनाको मृत्यु भएको थियो ।



हालसम्म अमेरिकाका फ्लोरिडा, वाशिंटन र क्यालिफोर्नियासहित एरिजोना, कोलाराडो, जर्जिया, इलेनोई, इण्डियाना, केन्टकी, मेरिल्याण्ड, मासाचुसेट्स, नेभादा, न्यू हेम्पसायर, न्यू जर्सी, न्यू योर्क, नर्थ क्यारोलाइना, ओरेगन, पेन्सलभेनिया, रोड आइल्याण्ड, टेनिसी, टेक्सस र विस्कन्सिन राज्यमा कोरोना संक्रमितहरु देखा परिसकेका छन् ।

त्यसबाहेक क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरको तटपारी तैरिरहेको ग्राण्ड प्रिन्सेस नामक क्रुज सिपमा रहेका २१ जनामा कोरोनाको पुष्टि भएको छ ।

सम्बन्धित समाचार