केही दिनदेखि जारी बदली, वर्षा र हिमपातको शृंखलामा आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको थियो ।
शनिबार राति नै पानी पार्ने यो प्रणाली बाहिरी सकेकाले आजबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
‘शुक्रबार पश्चिम हुँदै प्रवेश गरेको पानी पार्ने प्रणाली कमजोर बनेर शनिबार नै बाहिरिएको छ,’ प्रधानाङ्गले भने, ‘त्यसैले आइतबारबाट देशका सबैजसो भागको मौसम सुधारिन्छ । काठमाडौंमा घाम लाग्छ ।’
प्री–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखा गरेको छ ।