नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको हालै समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको साँस्कृतिक मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरी सम्पन्न भएको छ ।
मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया, मेक्सिको, श्रीलङ्काका ३५० भन्दा बढी कलाकारहरूले आ–आफ्नो देशको मौलिक कला प्रस्तुत गरेका थिए । राजधानीको कान्तिपथस्थित होटल एलो प्यागोडमा समापन गरिएको कार्यक्रममा मेलामा सहभागी कलाकारलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ बाईस वर्षअगाडि स्थापना भएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताए ।
बाहिरबाट आएका दश देशका कलाकारहरूले नेपालमा रङ्गहरूको पर्व फागु पूर्णिमा मनाउनकै लागि आफ्नो नेपाल बसाइलाई केही दिन लम्ब्याएका थिए ।