कति हुन्छ रत्नपार्कको दैनिक कमाई ?

संघीय राजधानीको काठमाडौंको केन्द्रमा रहेको छ शंखधर उद्यान (रत्नपार्क) । विस्तारै जाडोको समय घट्दै छ र गर्मीको मौसमा आरम्भ हुँदै छ । प्रायः धेरैजसो मानिसहरू गर्मी मौसममा शीतलता खोज्ने गर्दछन् । शीतल छाहारीमा बसेर आनन्द लिन चाहन्छ, जुन चाहनाहरूलाई पूरा गर्ने काम गर्दछ शंखधर उद्यान अर्थात् रत्नपार्कले ।

काठमाडौं महानगरपालिकाको वातावरण विभागले पार्कभित्र निःशुल्क वाइफाईको सुविधा गरिदिएको छ । पार्कभित्र पोखरी, हरियाली बगैँचा, केटाकेटीका लागि छुट्टै उद्यान, पिङ, चौतारी, अपाङ्गमैत्री शौचालयको पनि व्यवस्था छ ।



शंखधर उद्यान तथा रानी पोखरी इकाइका निमिक्त प्रमुख पदमबहादुर थापाका अनुसार पार्कमा प्रवेशका लागि मंङ्सिरदेखि माघसम्म विहान ८ बजेदेखि बेलुक ५ बजेसम्म र बाँकी महिना बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्मको समय तोकिएको छ । पार्क प्रवेश गर्ने सर्वसाधारणका लागि रू २५, विद्यार्थीहरूका लागि रू १५, एशियनहरूका लागि रू ५० र अन्य देशका नागरिकहरूका लागि रू ७५ शुल्क तोकिएको र बालबालिका र जेष्ठ नागरिक, अपाङ्ग र बालबालिकाको लागि भने प्रवेश निःशुल्क रहेको थापाले बताए । त्यस्तै व्यावसायिक फोटो सेसन, नेपाली टेलिचलचित्र सुटिङ, म्युजिक भिडियो सुटिङ, चलचित्र सुटिङको लागि पनि फरक फरक शुल्क निर्धारण गरिएको पनि उनले बताए ।

पार्कबाट दैनिक करिब २० हजारको आम्दानी हुने गरेको भन्दै थापाले गत आर्थिक वर्षमा मात्रै १ करोड १८ लाख आम्दानी भएको बताए । उनका अनुसार अहिले शंखधर उद्यानमा १४ जना कर्मचारीहरू रहेका छन् भने दिनमा तीन पटकसम्म पार्कको सरसफाई गर्ने गरेका छन् ।

पार्कभित्र भेटिएकी मकवानपुरबाट आज मात्र काठमाडौं आइपुगेकी निर्मला तामाङ भन्छिन् ‘म जहिले काठमाडौं आउँछु एकपटक यहाँ (रत्नपार्क) भित्र पनि पुगेकी हुन्छु । शीतल छ, आनन्द छ, पहिलेको भन्दा अहिले धेरै नै राम्रो पनि बनाएको रहेछ ।’ पार्कभित्र आएकाहरू सबै एउटै उद्देश्य छैन । कोही चौरमा बसेर ल्यापटप चलाइरहेका हुन्छन्, कोही किताब पढिरहेका त कोही साथैहरूसँग सेल्फी खिँच्नमै ब्यस्त देखिन्छन् । केही असहज लाग्ने दृश्यसमेत देखिन्छन् ।

काठमाडौं जस्तो व्यस्त शहरमा कसैका लागि भने एक छिनको लागि आराम गर्ने ठाँउ बनेको छ । आफ्नो भाइसँगै पार्कमा भेटिएकी नाथकोट बस्ने जमुना गुरूङ भन्छिन् ‘वीर अस्पतालमा भाइको उपचार गराउन आएकी हुँ । त्यहाँ टिकट लिएर आएको मेरो पालो दिउसो २ बजे पो आउने रहेछ । अनि एकछिन बस्नलाई कता जानेभन्दा रत्नपार्क नै ठीक जस्तो लाग्यो । त्यसैले हामी यहाँको रमणीय वातावरणमा केही क्षण भुलौं र शीतलताको आनन्द पनि उठाऔं भनेर आयौं ।’

सम्बन्धित समाचार