स्वास्थ्य मन्त्री नै कोरोना भाइरसद्वारा संक्रमित

बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।



डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।

६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् । डोरिसले पछिल्लो समय कतिवटा बैठकमा भाग लिइन्, त्यसको कुनै जानकारी छैन ।

स्वास्थ्य विभागका अनुसार विहीबार उनलाई पहिलो लक्षण देखिएको थियो । उनले त्यसैदिन प्रधानमन्त्रीद्वारा आयोजित एक सडक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबारदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।

प्रधानमन्त्री बोरिस जोनसोनले संक्रमणको परीक्षण गरे नगरेको बारे कसैले पनि जानकारी दिन चाहेनन् । स्वास्थ्य सचिवलगायत सबै स्वास्थ्यमन्त्रीले भाइरसको परीक्षण गर्नुपर्नेछ । डोरिससँग सम्पर्कमा रहेका अन्य अधिकारीले पनि परीक्षण गर्नुपर्ने जानकारीमा उल्लेख छ ।

सम्बन्धित समाचार