आइपिएल रोक्न अदालतको ढोका ढक्ढक्याइयो

बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० प्रतियोगिता रोक्न अदालतमा मुद्धा पारेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला बिना दर्शक आइपिएल गर्ने विषयमा चर्चा भइरहेका बेला प्रतियोगिता नगराउन माग गर्दै तामिलनाडुमा मुद्धा परेको हो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तमिलनाडुको मद्रास उच्च अदालतमा दायर गरिएको रिटमा केन्द्रीय सरकारलाई आइपिएल प्रतियोगिता रोक्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई निर्देशन दिन माग गरिएको छ । यस अघि महाराष्ट्रका स्वास्थ्य मन्त्रीले कोरोनाको त्रास बढिरहेकाले आइपिएल रद्ध गर्न सुझाव दिएका थिए ।



आगामी मार्च २९ देखि शुरु हुन थालेको आइपिएलको तयारीमा फ़्रेन्चाइजी टिमहरु जुटेका बेलामा आइपिएलका खेल पनि बिना दर्शक खेलाउने बारेमा बहस जारी रहेको छ । अब प्रतियोगिता शुरु हुन केबल २० दिन बाँकी रहेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, केन्द्रीय तथा राज्य सरकारहरु, फ़्रेन्चाइजीहरु यस बारेमा छलफलमा जुटेका छन् ।

१३औ संस्करणको आइपिएल खालि स्टेडियममा गर्ने र दर्शकका लागि लाइभ प्रशारण मात्र हेर्न पाउने व्यवस्था गर्ने बारे फ़्रेन्चाइजीहरुले नै सल्लाह दिएको भारतीय मिडियामा चर्चा चलेको छ ।

भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले कोरोनाले आइपिएलमा असर नगर्ने बयान दिएपनि पछिल्लो समय भारतमा पनि विस्तारै कोरोनाको संक्रमण बढ्न थालेपछि केन्द्रीय सरकारसँग छलफल गर्ने भएको छ ।

आउँदो साता केन्द्रीय स्वास्थ्य मन्त्रालय र बोर्डबीच छलफल हुने भएको छ । सो छलफलपछि मात्र अन्तिम निर्णय लिइने बताइएको छ । आइपिएलको १३औं संस्करण मार्च २९ देखि शुरु हुँदै छ भने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुँदै छ ।

सम्बन्धित समाचार