कोरोनाका कारण खेल स्थगित गर्न खेलाडीको सुझाव

स्पेनिस ला लिगामा आउँदो दुई हप्ताका खेलाहरु बन्द रंगशालामा गर्ने निर्णयमा खेलाडीहरु असन्तुष्ट देखिएका छन् । दर्शकबिनाको खेलको कुनै महत्व नहुने भन्दै बन्द रंगशालामा हुने फुटबलको मतलब नरहेको उनीहरुको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन इटालीमा सबै खेलकुद गतिविधि बन्द भएका छन्, प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीचको खेल स्थगित भएको छ, विश्वभर नै खेलकुदका अरु विभिन्न गतिविधि प्रभावित भएका छन्, युरो कप फुटबलदेखि ओलम्पिकसम्म अन्योलमा परेको छ ।



ला लिगाका अध्यक्ष जेभियर टेबासले पनि आवश्यक परेमा र सरकारले भनेमा आफूहरु सबै खेल स्थगित गर्न तयार रहेको बताएका छन् । तर खेलाडीहरु भने बन्द रंगशालामा नै हुने खेलमा पनि असन्तुष्ट देखिएका छन् । स्पेनमा फुटबलहरुको एक संस्था एएफइले भनेको छ- ‘दर्शक नहुनु भनेको जोखिम नहुनु होइन ।’

एएफइले दर्शकबिना खेल गर्नुभन्दा जोखिमलाई हेरेर पनि खेलहरु स्थगित गर्नु नै राम्रो हुने सुझाव दिएको छ । ‘धेरै ठूलो जमघटहरु गर्न नहुने कुरा हामीले बुझेका छौँ । तर धेरै समयसम्म खेलहरु बन्द रंगशालामा हुनु भनेको राम्रो कुरा होइन । त्यसले खेलकुद प्रतियोगिताको मर्म नै मारिदिन्छ’ एएफइले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार