इटालियन क्लब इन्टर मिलानले आफ्ना सबै खेल गतिबिधि स्थगित गरेको घोषणा गरेको छ । इटालियन क्लब युभेन्टसका खेलाडी डानियल रुगानी कोरोनाको संक्रमणमा परेपछि इन्टर मिलानले सावधानी अपनाउदै आफ्ना सम्पूर्ण खेल गतिबिधि स्थगित गरेको जानकारी दिएको छ ।
क्लबले कोरोनाबाट बच्न सबै आवश्यक सावधानी अपनाएको समेत जनाएको छ । यस अघि कोरोनाका कारण इन्टर मिलानको युरोपा लिगको अन्तिम १६ को स्पेनिस क्लब गेटाफेविरुद्धको खेल समेत स्थगित भएको थियो ।
युइएफ़एले स्पेन र इटालीबीच ‘ट्राभल प्रतिबन्ध’ लगाएकाले खेल स्थगित भएको जनाएको छ । इटाली कोरोनाका कारण पूर्णरुपमा प्रभावित भएको छ । सरकारले पुरै इटालीलाई बन्द गर्ने निर्णय गर्दै सम्पूर्ण होटल, रेस्टुरेन्ट, स्कुल, विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ ।
इटालीमा अहिलेसम्म ८२७ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।