नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले महत्वपूर्ण विषयमा सरकारको ध्यानकर्षण गराएकी छन् । विहीबारको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद वलीले सरकारको ध्यानकर्षण गराएकी हुन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्व महामारीका रूपमा घोषणा गरिसकेको बताउँदै सांसद वलीले यसबारेमा सरकारले के तयारी गरिरहेको छ भनी प्रश्न गरेकी छन् । कोरोना भाइरसबारे सरकारको तयारी के गरिरहेको छ ?, यदि छैन भने तयारी गर्नुपर्यो भन्दै उनले सम्मानीय अध्यक्षमार्फत स्वस्थ्य मन्त्रालयको ध्यानआकर्षण गराएकी छन् ।
उनले कोरोना भाइरस परिक्षणको व्यवस्था काठमाडौंमा मात्र सीमित रहेको बताइन् । उनले भनिन् ‘परिक्षणको व्यवस्था काठमाडौंमा मात्र सीमित रहेको विज्ञ डक्टरहरूको भनाइ छ । देशव्यापी रूपमा यसका टेस्ट किटहरू उपलब्ध गराउनको लागि सरकारले के गरिरहेको छ ?’ साथै, उनले नेपाल भारत आवत–जावत खुल्ला रूपमा भइरहेको भन्दै यसलाई रोक्नको लागि सरकारले गरिरहेका कामको बारेमा पनि प्रश्न गरिन् ।