विज्ञले दिए विमानस्थल बन्द गर्ने सुझाव नत्र स्थिति भयावह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा कोरोना संक्रमणको आशंकामा हालसम्म ४ सय ४६ जनामा कोरोनाको परीक्षण समेत गरिएको छ । नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र कोरोना संक्रमण देखिएका ती बिरामीलाई निको भइसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।



सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङको व्यवस्था गरेको छ ।
यस्तै चीन र भारतसँग सीमा जोडिएका ४१ वटा स्थलगत नाकाहरुमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना भाइरस भित्रिने जोखिम रहेको भन्दै कोरोना प्रभावित ८ देशहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, फ्रान्स, जापान, जर्मनी र स्पेटबाट नेपाल आउने यात्रुहरुलाई अन अराइभल भिसा समेत बन्द गरेको छ ।

यस्तै कोरोना प्रभावित क्षेत्रबाट हवाइ मार्ग हुँदै नेपाल आउने यात्रुले अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनको फारम भर्नुपर्ने व्यवस्था समेत गरेको जनाएको छ । सरकारले सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंका ६ वटा हब अस्पतालमा पूर्व तयारी गरिएको जनाएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तयारी गरिरहेको बताएपनि कतिपय चिकित्सकहरुले भने सरकारको तयारी फितलो भएको बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनाको संक्रमण प्रति सरकार अझै गम्भीर नभएको बताए । ‘नेपाल सरकार, स्वास्थ्य मन्त्री कोरोनाको विषयमा गम्भीर भएकै छैनन्, काठमाडौंमा १० हजार व्यक्ति बिरामी परे भने उनीहरुलाई उपचार गराउने ठाउँ नै छैन,’ डा. पाण्डेले भने, ‘स्वास्थ्यमन्त्रीले सरकारले सक्दैन । आफै क्वारेन्टाइनमा बस्नु भन्नुभयो, तर विदेशमा जस्तो सरकारले आफ्नै घरमा क्वारेन्टाइनमा बसेकालाई अत्यावश्यक कुरा घरमै लगिदिनुपर्छ ।’

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक महिना बन्द नगरे नेपालमा जुनसुकै समयमा कोरोना भाइरस फैलिन सक्ने पाण्डेले बताए ।

‘आजदेखि भारतले अन्तर्राष्ट्रिय आवागमन बन्द गर्‍यो, अमेरिकाले पनि बन्द गरिसकेको छ, भुटानले दुईसाताको लागि कसैलाई पनि भिसा दिएको छैन,’ डा. पाण्डेले भने, ‘नेपाल सरकार पटक्कै गम्भीर भएको छैन, सरकारले कोरोनाको संक्रमण भएका देशको सबै फ्लाइट एक महिनाका लागि बन्द गर्नुपर्छ । सरकारले अत्यावश्यक बाहेकका अन्तराष्ट्रिय उडान एक महिनाका लागि बन्द नै गर्नुपर्छ, यदी बन्द गरिएन भने नेपालमा जुनसुकै बेला कोरोना आउछ र फैलिन्छ । नत्र पछि सरकार पछुताउनुपर्छ ।’

डा. पाण्डेले त्रिभुवन विमानस्थल र सिमा नाकामा भएको हेल्थ डेस्क प्रभावकारी नभएको बताए ।

सम्बन्धित समाचार