कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगका दुई खेल स्थगित गरिएको छ । रियल म्याड्रिडका सबै खेलाडी आइसोलेसनमा राखिएपछि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल तथा युभेन्टस र लियोनबीचको खेल समेत स्थगित गरिएको छ ।
युइएफएले दुवै खेल स्थगित भएको जानकारी दिएको छ । युभेन्टसका डिफेन्डर डानिएल रुगानीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि युभेन्टसका स्टार खेलाडी क्रिस्तियामो रोनाल्डो हाल पोर्चुगलमा नै आइसोलेसनमा रहेका छन् । आफ्नी आमाको स्वास्थ्य खराब भएपछि पोर्चुगल पुगेका रोनाल्डो आफ्ना खेलाडी सहकर्मी रुगानीमा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बसेका हुन् । उनी तत्काल इटाली नफर्किने बताइएको छ ।
युभेन्टसका अन्य खेलाडी समेत अहिले सेल्फ आइसोलेसनमा रहेको बताइएको छ । युरोपमा बढेको कोरोनाको संक्रमणका कारण सिरी ए, ला लिगा स्थगित गरिएको छ भने अब प्रिमियर लिगमा समेत यसको असर देखिन थालेको छ ।
युइएफएले च्याम्पियन्स लिग र युरो कप समेत खेल नियमित गर्ने या नगर्ने भन्ने बारे सबै स्टेक होल्डरसँग छलफल गरेर निर्णय गर्न बैठक बोलाएको जनाएको छ ।