के रजनीकान्त मुख्यमन्त्री बन्छन्?

कलाकारहरु रामचंद्रन, करुणानिधि र जयललिताको निधनपछि अस्थिर बनेको तमिलनाडु राज्य सम्हाल्न सुपरस्टार रजनीकान्तले परिवर्तित राजनीतिक प्रणाली अबलम्वन गर्ने भएका छन्।

तमिलनाडुमा कलाकारहरु राजनीतिको नेतृत्वमा सफल बनिरहेका बेला रजनीकान्त पनि यही लाइनमा उभिएका छन् । अहिलेको नेतृत्वविहीन शुन्य समय परिवर्तनका लागि उपयुक्त भएको उनको भनाई छ । रजनीकान्तले अहिलेको भ्रष्ट शासनलाई भंग गर्न नसकिएमा भगवानले पनि तमिलनाडुलाई बचाउन नसक्ने बताउँदै आएका छन् ।



तमिलनाडुमा अर्को वर्ष सन् २०२१ मा २ सय ४४ सदस्यका लागि अर्को वर्ष विधानसभा निर्वाचन हुँदैछ । सन् २०१७ मा राजनीतिमा प्रवेशको घोषणा गरेका रजनीकान्तले अहिलेसम्म पार्टी खोलिसकेका छैनन् ।

चुनाव नजिकिँदै गर्दा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रजनीकान्तले शून्य भ्रष्टाचार र स्वच्छ राजनीतिक प्रणालीका लागि राजनीतिमा होमिएको र आफ्नो पार्टीले परिवर्तित राजनीतिका लागि नयाँ आन्दोलनको सिर्जना गर्ने बताए । शासन प्रणाली तथा पार्टी पारदर्शी र बलियो हुनुपर्ने भन्दै उनले संगठनात्मक संरचनामा युवाले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री नबन्ने घोषणा

अभिनेता रजनीकान्तले मुख्यमन्त्री नबन्ने घोषणा समेत गरे । आफूले पार्टीको नेतृत्व लिने तर मुख्यमन्त्रीका रुपमा तमिलनाडु विधानसभामा उपस्थित हुने कल्पना समेत नगरेको स्पष्ट पारे । आफू पार्टी नेतृत्व मात्रै गर्ने उनको भनाइ थियो । पार्टीबाट कस्लाई मुख्यमन्त्री बनाउने भन्नेबारे छलफल भइरहेको र शिक्षित, इमान्दार, आत्मविश्वास भएका युवालाई छनौट गरिने तथा त्यसमा महिला पनि हुनसक्ने उनको भनाइ छ । उनले आफ्नो दलको नाम भने खुलाएनन् ।

तमिलनाडुमा रहेका दुई दल एआईएडीएमके र डीएमके भ्रष्टाचारमा लिप्त हुँदा सरकार र समाजले क्षति व्यहोरेको भन्दै रजनीकान्तले चुनावका बेला मात्रै काम गर्ने नेतृत्वलाई निरुत्साहित गर्नुपर्ने बताए ।

रजनीकान्तको आगामी दलमा ५० बर्ष भन्दा कम उमेरका युवालाई पर्याप्त मात्रामा समावेश गरिने छ भने अवकाशप्राप्त न्यायाधीशहरु, आइएएस र आईपीएस अधिकारीहरु लगायत हुनेछन् ।

सम्बन्धित समाचार