पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड चिनियाँ रकम नष्ट गरिएको छ । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ती नोट नष्ट गरेको हो ।
यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ। न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।
पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसंग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।
विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ ।
मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवा भन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो । कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठनले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।