मेसी भन्छन् –‘सेल्फ आइसोलेसन, कठिन र चिन्ताको अवस्था हो’

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले ‘सेल्फ आइसोलेसन’ कठिन र चिन्ताको अवस्था भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सबै खेल गतिविधि बन्द भएपछि कोरोनाको संक्रमणबाट बच्न घरमै ‘सेल्फ आरिसोलेसन’ मा रहेका मेसीले सामाजिक संजालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

बार्सिलोनाले कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउदै क्लबको ट्रेनिङ समेत बन्द गरेर सबै खेलाडीलाई आ-आफ्नो घरमै बस्न निर्देशन दिएको थियो ।



मेसीले अगाडी भनेका छन् –‘यो सबैका लागि कठिन समय हो । म सबैका लागि शक्ति मिलोस भन्ने कामना गर्न चाहन्छु । स्वास्थ्य सबैभन्दा अगाडी आउँछ । यो कठिन समयमा स्वास्थ्यकर्मीको, स्वास्थ्य संस्थाको निर्देशन मानेर नै यो अवस्थाबाट बाहिर आउन सकिन्छ । यो समय जिम्मेवार भएर घरमै बस्नु हो । मलाई आशा छ, हामी यो अवस्थाबाट छिट्टै बाहिर आउने छौं ।’

पछिल्लो समय कोरोना भाइरस स्पेनमा निकै तिब्र गतिमा फैलिरहेको छ । अहिलेसम्म स्पेनमा कोरोनाबाट १९५ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ६३ सय ९१ जना संक्रमित बनेका छन् । स्पेनिस सरकारले पुरै देशमा संकटकाल घोषणा गरेको छ ।

सम्बन्धित समाचार