आइपिएल बारे अझै अन्योल

इण्डियन प्रिमियर लिग (आइपिएल) बारे अझै अन्योल जारी रहेको छ । ठुलो आर्थिक पक्ष जोडिएको हुनाले भारतीय क्रिकेट कन्ट्रोल बोर्डले समय लिएर निर्णय लिइरहेको छ ।

यस अघि मार्च २९ देखि शुरु हुने भनिएको यस सिजनको आइपिएल अब अप्रिल १५ सम्मका लागि सरेको छ । भारत सरकारले अप्रिल १५ सम्म विदेशीलाई भिसा दिन बन्द गरेपछि बोर्डले आइपिएल पनि १५ अप्रिलबाट शुरु हुने गरि आइपिएल सारेको छ ।



अझै पनि आइपिएल हुने नहुने बारे अन्योल कायम रहेको छ । अहिलेको अवस्थामा विश्वभरका सबै खेल गतिविधि बन्द भएको अवस्थामा आइपिएल हुने सम्भावना निकै कम रहेको छ । तर बोर्डले आइपिएलको फर्म्याट परिवर्तन गरेर भएपनि आइपिएल स्थगित नगर्ने बारे छलफल गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

शनिबार बोर्ड र आइपिएल फ़्रेन्चाइजी मालिकबीच भएको छलफलमा आइपिएलको फर्म्याट परिवर्तन गर्नेदेखि खेलको संख्या कम गर्ने विषयमा समेत छलफल भएको छ ।

आइपिएलमा हुने खेल संख्या घटाउने बारेमा छलफल भएको बताइएको छ जसमा आइपिएललाई अहिलेको स्वरूप परिवर्तन गरेर खेलाउने विषयमा छलफल भएको छ । आइपिएललाई आइसीसीको प्रतियोगिता जस्तो दुई समुहमा विभाजित गरेर दुई समुहका दुई शिर्ष टिमलाई सेमिफाइनलमा लैजाने गरी छलफल भएको छ । अहिले आइपिएलमा लिग चरणमा एक टिमले कुल १४ खेल खेल्छ भने शिर्ष चार टीम प्लेअफमा पुग्ने गर्दछन् ।

साथै अहिले सार्वजनिक तालिकामा पाँच दिनमात्र दुई खेल हुने तालिका रहेको छ भने बोर्डले अब हरेक दिन दुई खेल खेलाउने बारेमा छलफल गरेको बताइएको छ । साथै बोर्डले आइपिएलका खेलहरु अहिले जस्तो फ़्रेन्चाइजीको होम र अवे स्टेडियममा हुने गरेकोमा निश्चित तोकिएका केहि स्टेडियममा गराउने, जसले गर्दा खेलाडी, टेलिभिजन क्रु, व्यवस्थापन टिम र अन्य प्रतियोगितासँग सम्बन्धित टिमले धेरै ट्राभल गर्नु नपरोस भनेर प्रतियोगितालाई सिमित स्टेडियममा गराउने बारेमा पनि छलफल भएको बताइएको छ ।

साथै आइपिएलका खेल अहिलेको अवस्थामा संचालन भएमा विना दर्शक गराउने बारेमा समेत चर्चा भएको बताइएको छ । बैठकपछि बोर्डका अध्यक्ष सौरभ गांगुलीले आइपिएलको १५ दिनको समय गएकाले प्रतियोगिता छोटो बनाउनु पर्ने सुझाव दिएका छन् । गांगुलीले एक साताको समय दिन आग्रह गर्दै अवस्थाको समीक्षा गरेर थप निर्णय लिइने बताए ।

उनले प्रतियोगिता छोटो बनाउने सहित ६-७ विकल्पमा चर्चा भएको भएपनि सुरक्षा सबै भन्दा पहिलो प्राथमिकता रहेकाले सरकारको निर्देशन र अवस्था हेरेर निर्णय लिने बताए ।

सम्बन्धित समाचार