बढ्यो ओलीको सक्रियता, मन्त्रिपरिषद् पुनर्गठनको थाले तयारी

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको सुझावविपरीत आफ्नो सक्रियता बढाएका छन् । गत शुक्रबार डिस्चार्ज भएका उनले शनिबारबाट भेटघाटलाई तीब्रता दिएका थिए । आइतबार सार्क राष्ट्रप्रमुखहरूको भिडियो कन्फ्रेन्समा सहभागी भएका उनले पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । यससँगै उनले मन्त्रिपरिषद् पुनर्गठनको पनि तयारी थालेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

ओलीले शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ट नेता माधव नेपाललाई पनि भेटेका थिए । भेटको क्रममा ओलीले मन्त्रिपरिषद् गुर्नगठनको प्रसंग निकालेको स्रोतको दाबी छ । ओलीले मन्त्रिपरिषद् पुर्नगठनको प्रसंग निकालेपछि प्रचण्डले सचिवालयको निर्णय कार्यन्वयनको प्रसंग निकालेका थिए । ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय कार्यन्वयनको लागि कुनै हतार नभएको प्रतिक्रिया दिएका थिए ।



ओलीले नेपालसँगको भेटमा पनि अत्यावश्यक काम तत्काल गर्ने तयारी गरेको भन्दै मन्त्रिपरिषद् पुनर्गठनको लागि उपयुक्त पात्र को हुन्छ भनी परामर्श गरेका थिए । पछिल्लो समय नेपाललाई फकाइरहेका ओलीले ईश्वरसँग सल्लाह गरेर नयाँ मन्त्रीे तयार गर्नुहोस् भनी जिम्मेवारी दिएका थिए । स्रोतका अनुसार ओलीले प्रचण्डको बेवास्था गर्दै पूर्व एमालेकै २ नेतालाई एकलाई सञ्चार र अर्कोलाई शहरी विकाश मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

यसअघि कार्यसम्पादन कमजोर रहेका ३ मन्त्री हटाएर ५ नयाँ मन्त्रिलाई जिम्मेवारी दिने तयारी गरेको भए पनि पछिल्लो समय नेकपाको शक्ति सन्तुलनमा आएको फेरबदललाई मध्यनजर गर्दै ओली तत्काल २ नयाँ मन्त्री थप्ने तयारीमा छन् । आफूइत्तरका शक्तिलाई हाल लिएर गौतमलाई राष्ट्रियसभामा पठाएर सरकार ढाल्ने योजना बुनेको भन्दै ओली प्रचण्डसँग रूष्ट भएपछि नेकपाको शक्ति सन्तुलनमा व्यापक फेरबदल भएको छ । ओलीले वरिष्ठ नेता नेपाललाई हात लिइसकेका छन् भने झलनाथलाई फकाउन विभिन्न दूतहरूको प्रयोग गरिरहेका छन् । प्रचण्डलाई एक्ल्याउन खनालबाट पनि ग्रिन सिग्नल पाएका ओलीले उनलाई पेलेरै अगाडि बढ्ने रणनीति बनाएको बुझ्न सकिन्छ ।

२ मन्त्री छान्न हम्मे हम्मे
ओलीलाई २ मन्त्री छान्न हम्मेहम्मे परेको छ । पार्टीभित्र आकांक्षी धेरै भएको र तत्काल कार्यसम्पादन कमजोर भएका मन्त्रीलाई हटाउने वाताारण पनि नबनेकोले खाली रहेका २ मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्नुपर्ने ओलीको बाध्यता छ । नयाँ मन्त्रीमा नेकपामा भीम रावल, वेदुराम भूषाल, विरोध खतिवडा र खगराज अधिकारीको चर्चा छ । भीम रावललाई क्याविनेटमा ल्याएमा एमसीसी पारित गर्ने वातावरण बन्ने ओलीको बुझाइ छ । तर नेता नेपाल र उपप्रधानमन्त्री पोखरेल पछिल्लो समय सरकारविरूद्ध आक्रमक भएका रावललाई तत्काल मन्त्रीपरिषद्मा सामेल गराउन नहुने सुझाव दिने गरेका छन् ।

ओली भने रावललाई परराष्ट्रमा ल्याएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सञ्चारमा लान चाहेका छन् । ज्ञवालीलाई सञ्चारमा ल्याउँदा सञ्चारगृहसँग बिग्रिएको पछिल्लो सम्बन्धमा सुधार आउने ओलीको बुझाइ छ । यता शहरी विकाश मन्त्रीमा खतिवडा र अधिकारीमध्ये एकलाई ल्याइने र रावललाई क्याविनेटमा सहभागी गराउने वातावरण नबनेमा भूषाललाई सञ्चारमन्त्री बनाउने ओलीको तयारी रहेको स्रोतको दाबी छ ।

ओलीको सक्रियताप्रति चिकित्सकको आपत्ति
आइतबार मात्र मुत्रनलीको स्ट्याण्ड झिकेका ओली चिकित्सको सुझावविपरीत भेटघाट र बैठकमा व्यस्त हुन थालेपछि उनका चकित्सकहरूले आपत्ति जनाएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको बिमारी ६ महिनासम्म सक्रिय काममा लाग्न नहुने उनिहरूको सुझाव छ । ओलीलाई पनि चिकित्सकहरूले कम्तिमा ३ महिना आराम गर्न सुझाव दिएका थिए ।

ओलीमा अर्को खतरा संक्रमणको रहेको छ । चिकित्सकहरूले उनलाई सकेसम्म कुनै पनि व्यक्तिको नजिक नजान सुझाएका छन् । तर आइतबारै उनी दलबलसहित सिंहदरबार पुगेर सार्क राष्ट्रप्रमुखहरूको भिडियो कन्फ्रेन्समा सहभागी भएका थिए । दोस्रोपटक मिग्र्रौला प्रत्यारोपणपछि निकै कमजोर देखिएका ओली सहयोगीको सहारामा हिडडुल गरिरहँदा संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकको दाबी छ ।

सम्बन्धित समाचार