सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ मा पीएचडी गरेका छन् । रावलले राजनीति शास्त्र अन्तर्गत ‘पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल’ विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।
सोमबार रावलको शोध प्रबन्धको भाइबा थियो । रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए। अन्तर्राष्ट्रिय कानुनका ज्ञातासमेत रहेका नेता रावल पछिल्लो समय अमेरिकी परियोजना एमसिसीको विपक्षमा उभिएपछि चर्चामा आएका छन् ।
रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्राडा. मीना वैद्य रहेकी थिइन् ।