आइतवार लुकाएर राखिएका ठाउँबाट प्रहरीले बरामद गरेको मास्क बिक्री गरिने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो।
‘महान्यायाधीवक्ताको कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर बरामद भएका मास्क सर्वसाधारणलाई बिक्री गरिने छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने ।
कपनको मिलनचोकबाट प्रहरीले ३५ कार्टुनमा राखिएका १ लाख ६८ हजार थान मास्क बरामद गरेको छ । प्रहरीले चितवनको टाँडी नगरपालिका वडा नम्बर १ घर भई स्वयम्भु बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, बाराको गढीमाई उपमहानगरपालिका घर भई हाल कपन बस्ने प्लाष्टिक सप्लायर सञ्जयकुमार रेग्मी, आरडिजी इन्टरनेसनल सप्लायर्सका सञ्चालक २४ वर्षीय सुरज गोयल, भारतिय नागरिक सुभाष महेश्वरी र ओखलढुंगा घर भई हाल ललितपुरको ईमाडोल बस्ने टेकराज श्रेषठलाई नियन्त्रणमा लिएको हो ।
करिब ३ रुपैयाँ २५ पैसा पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो । त्यस्तै प्रहरीले सतुंगलमा रहेको एक गोदाममा पनि छापा मारेको थियो । विष्णुदेवी गोदामबाट प्रहरीले १२० कार्टुन मास्क बरामद गरेको हो। कार्टुनमा ६ लाख भन्दाबढी मास्क रहेको प्रहरीले जानकारी दिएको छ ।
यसरी बरामद गरिएको मास्क बजारमा बेचिने भएपछि केही मात्रामा भए पनि मास्कको अभाव कम हुनेछ ।