विश्वका १५८ मुलुकमा फैलियो कोरोना, ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय नाग्यो

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ हजार ६६४ जनाको मृत्यु भएको छ । १५८ देशमा फैलिएको यो भाइरसबाट एक लाख ७३ हजार ९३० जना संक्रमित छन् । इटालीमा सोमबार एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ ।

युरोपमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ । स्पेनमा ८,७९४ र फ्रान्समा ५,४२३ जनामा संक्रमण देखिएको छ । बेलायतमा पनि कोरोनाबाट एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार १४ जनाको मृत्यु भएपछि मृतकको संख्या ३५ पुगेको छ ।



स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८०० बाट २,२०० पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै, स्विट्जरल्यान्ड १५, नेदरल्यान्ड २०, नर्वे ३, बेल्जियम ५ र स्विडेनमा ६ जनाको मृत्यु भएको छ ।

संक्रमण रोक्न युरोपेली मुलुकका सरकारलाई अझ बढी उपाय अवलम्बन गर्न बाध्य बनाएको छ । कोरोना भाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल तथा रेस्टुरेन्ट बन्द गरिएका छन् । फ्रान्सले अति जरुरीबाहेक व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा कडाइ गरेको छ ।

बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औँल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्न आदेश दिएको छ ।

अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको छ । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि कोरोना भाइरसको विस्तार रोक्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ ।

सम्बन्धित समाचार