आमाछोरीको ज्यान गएपछि तनावग्रस्त पनौतीमा अनिश्चितकालीन कर्फ्यु जारी

टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको पनौतीमा मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता कुमारविक्रम थापाले नवकान्तिपुर डटकमलाई जानकारी दिए ।

सोमबार टिपरको ठक्करबाट बाटो हिँडिरहेका ३ वर्षकी बालिका र ३३ वर्षकी आमाको ज्यान गएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका थिए । सोमबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते हुनुका साथै आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी समेत गरेका थिए । स्थानीहरूको प्रदर्शन मंगलबारसम्म पनि नरोकिएपछि जिल्ला प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ ।



कर्फ्यु लाग्ने क्षेत्र : पूर्व बाटोको चौकीसम्म ८ सय मिटर क्षेत्र र पश्चिम कुशादेवी जाने बाटो १ किलोमीटरसम्म तथा उत्तर बनेपा जाने ठाडोबाटो १ किलोमिटर क्षेत्र देखि दक्षिण बेथानचोक जानेबाटो १ किलोमिटरसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासनले जनाएको छ ।

घटना : काभ्रेको पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न ४ बजेको समयमा बा ५ ख ५४८० नं. को टिपरले पैदलयात्री आमाछोरीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार बनेपाबाट पनौतीतर्फ जाँदै गरेको उक्त टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष ३३ की जुनिमाया तामाङ र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सम्बन्धित समाचार