विमान उडाउँदै आकाशमै पाइलटले लेखे : स्टे होम

अस्ट्रियन विमानस्थलबाट उडेको एउटा सानो हवाइजहाज हावामा कावा खाइरहेको थियो । करिब ३० मिनेट पाइलटले विमानलाई यता र उता गरिरहे । उनको उडान शैलीले कुनै प्याट्रन बनाइरहेको अनुभूति हुन्थ्यो । तलबाट हेर्दा पाइलटले केही सिकिरहेका हुन् कि भन्ने पनि अनुभूति हुन्थ्यो । तर, त्यसो भइरहेको थिएन । उनले केही संदेश प्रवाह गरिरहेका थिए – आकाशमा ।

उनको उडानले भनिरहेको थियो – स्टे होम । अर्थात्, घरमै बस। कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि उनले आकाशमा लेखिरहेको यस्तो सन्देशलाई फ्लाइट राडरबाट प्रस्ट रुपमा देखियो । विमानलाई ट्र्याक गर्दा लेखिएको म्यासेज देखिन्छ जसमा प्रस्ट सन्देश छ ।



यो विमान जहाँबाट उडेको थियो, त्यही गएर ओर्लियो पनि । अस्ट्रिया, हंगेरी र स्लोभाकियाको आकाशमा विमान उडेको थियो- यस्तो लेख्नका लागि ।

कोभिड १९ ले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा घरमा सुरक्षित बस्नुपर्नेमा सबैले जोड दिँदै आएका छन् । त्यही कुरालाई आकाशमा उडेर ती पाइलटले स्थापित गर्न खोजेका हुन्।

सम्बन्धित समाचार