१६५ देशमा फैलियो कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या ८ हजार नजिक

कोरोना अर्थात कोभिड–१९ भाइरस संक्रमण १ सय ६५ देशमा फैलिएको छ भने मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुगेको छ। कोरोना संक्रमणको तथ्यांक दिइरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म ७,९८७ जनाले महामारीको रूप लिएको कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्‌ । पछिल्लो २४ घण्टामा विभिन्न देशमा गरि थप ८ सय २० जनाको मृत्यु भएसँगै हालसम्म यस भाइरसको संक्रमणका कारण ७ हजार ९ सय ८७ जनाले ज्यान गमाएका हुन्‌ ।

भाइरस संक्रमणणका कारण चीनमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ३७ पुगेको छ। यस्तै पछिल्लो समय इटालीमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। इटालीमा थप ३ सय ४५ जनाको मृत्यु भएको छ भने हालसम्म त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ।



यस्तै इरानमा थप १ सय ३५, स्पेनमा थप १ सय ९१, फ्रान्समा थप २७ जनाको मृत्यु भएको छ। यसैगरी अमेरिकाको सबै ५० राज्यमा कोरोनाको संक्रमण देखिएको छ । वेष्ट भर्जिनियामा हिजो एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो । अमेरिकामा अहिलेसम्म ६ हजार ४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १ सय ११ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार