नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ चैत्र ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले बजारमा व्यापारीहरूले कृतिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको बताएकी छन् । संघीय संसदको राष्ट्रियसभामाको विहीबार बसेको बैठकमा बोल्दै सांसद वलीले अहिले दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, नुन, चिनीको कृतिम अभाव देखाएर व्यापारीहरूले कालोबजारी गरिरहेको बताइन् ।
हाम्रो मूल धर्म भनेकै आफू बाँच र अरूलाई पनि बाँच्न देउ भन्ने भएको बताउँदै सांसद वलीले भनिन् ‘अहिले हाम्रो प्रवृति उपभोक्तावादी भयो । कसरी कमाउँ ? छोरी बेचर कमाउँ कि ? भाइलाई ठगेर कमाउँ ? भन्ने भएको छ ।’ विश्वभरि नै कोरोनाको महामारी फैलिएको बेला व्यापारीहरूमा भने सामान लुकाएर पैसा कमाउने प्रवृति बढेको उनले बताइन् ।
‘देश एउटा डुङ्गा हो र हामी त्यही डुङ्गाका यात्री हौं’ उनले भनिन् ‘एउटै डुङगाका यात्री भएकाले म बसेको ठाँउमा प्वाल छैन भनेर बस्ने होइन । बरू जुनसुकै ठाँउम प्वाल परे पनि डुङ्गा डुब्छ भन्ने कुरामा हामी सबै सचेत र गम्भीर बन्नु पर्छ ।’
अहिले निकै चुनौतीपूर्ण र गम्भीर अवस्था भएकाले यो यसमा नाफा घाटाभन्दा पनि माथि उठ्नु पर्ने, एकअर्कामा सद्भाव देखाउनु पर्ने र मानवीयतालाई प्रमुख धर्मको रूपमा मनाउनु पर्ने उनले जोड दिइन् । ‘देश अप्ठ्यारोमा परेको बेला जनताले दुःख पाएका बेला दाल, चामल, तेल, मास्क र सेनिटाइजर लुकाएर कालोबजारी गर्ने कति लाजमर्दो कुरा हो’ उनले भनिन् ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री आफैं अनुगमनमा खटिएर निरीक्षण गर्नु स्वागतयोग्य भएको बताउँदै सांसल वलीले त्यो कति प्रभावकारी भएको छ, संसदमा जानकारी गराउनु पर्ने बताइन् । ठूला व्यापारीहरूले साना व्यापारीलाई सामान नदिइरहेका भन्दैे यसरी अभाव सिर्जना गरेर ठग्ने व्यापारीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार किन उदासिन छ ? भनी उनले प्रश्नसमेत गरिन् ।