कोराना संत्रासः अब शहरका बासिन्दा घर बाहिर निस्कन नपाइने

अमेरिकाको सबैभन्दा बढी जनसंख्यायुक्त राज्य क्यालिफोर्नियाले सबै बासिन्दालाई घर भित्रै रहन आग्रह गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप क्यालिफोर्नियाका गर्भनर गाविन न्यूसमले अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कन राज्यका बासिन्दालाई आग्रह गरेका हुन् ।

यसअघि उनले राज्यका ४० मिलियन बासिन्दा मध्ये आधालाई आउँदो दुई महिनामा कोरोना भाइरसको संक्रमण हुन सक्ने आँकलन गरेका थिए । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण २०० जनाको मृत्यु भएको छ ।



५० राज्यमा फैलिएको कोरोनाबाट अमेरिकामा हालसम्म १३ हजार ६७८ जना संक्रमित भएका छन्। गभर्नर न्यूसमले भनेका छन्, ‘अहिलेको अवस्था भनेको कठिन निर्णय लिने हो । हामीले वास्तवितालाई स्वीकार गर्नु पर्छ ।’

घरायसी सामग्री किन्न, औषधि लिन, कुकुरलाई हिँडाउन वा व्यायाम गर्नका लागि घर बाहिर निस्कन दिइने गभर्नर न्यूसमले बताएका छन् । यसअघि नै राज्यका आधा बासिन्दालाई घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो ।

सन फ्रान्सिस्कोसहितका शहरमा यसअघि नै प्रतिबन्ध लागेको थियो । गभर्नर न्युसमले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर केन्द्रको सहयोगको माग गरेका थिए ।

सम्बन्धित समाचार