नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत्र ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले कोरोना भाइरसको महामारीले सिङ्गो विश्व आतङ्कित भएको बताएका छन् । हालै एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले विश्वव्यापी महामारी घोषणा गरेकाले सिङ्गो विश्व नै आतङ्कित भएको बताएका हुन् ।
सभापति केसीले भनेका छन् ‘यो महामारीले एकातिर ठूलो मानवीय क्षति भएको र थप अकल्पनीय क्षतिको सन्त्रास फैलिएको छ भने अर्कातिर कतै लक डाउनका कारण दैनिक उपभोग्य सामग्रीको साँच्चै अभाव त कतै कृत्रिम अभाव र कालोबजारीले जनजीवन कष्टकर हुँदै गएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएकोे छ– ‘सङ्कटको यस घडीमा सबैले संयम, सतर्कता र सावधानी अपनाउनु आवश्यक छ । यसको सङ्क्रमण फैलिन नदिन अनावश्यक भ्रमण नगर्न, भीडभाड र जमघट नगर्न र खानपान तथा सरसफाइमा सतर्कता अपनाउन नेपाली कांग्रेस नुवाकोट सबैमा हार्दिक अपील गर्दछ ।’
साथै ‘कोरोना भाइरसको सङ्क्रमण र अभावजन्य समस्याबाट आफू बच्नु र अरूलाई बचाउनु सबैको कर्तव्य हो । यो हाम्रो मानवीय धर्म पनि हो । यही शास्वत कर्तव्यलाई मनन् गरी आफ्नो छरछिमेक र वरपरको हालखबर बुझ्ने, वृद्धवृद्धा र बालबालिकालाई सहयोग गर्ने, बजारमा कालोबजारी र कृत्रिम अभाव हुन नदिनेजस्ता कार्य गरी सामाजिक दायित्व निर्वाह गर्न पार्टीका सबै तहका कार्यकर्ता र शुभेच्छुकहरूमा नेपाली कांग्रेस आह्वान गर्दछ’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘पार्टीका स्थानीय समितिहरूले स्थानीय संघसंस्थाहरूलाई समेटी आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध गर्दछु । विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित मुलुकहरूमा रहेका नेपाली दूतावासहरूसँग समन्वय गर्नुहुन र केही समस्या भए आफूले चिनेको कुनै पनि कांग्रेस नेतृत्वसँग सम्र्पकमा रही जानकारी गराउनुहुन पनि अनुरोध छ ।’