उपत्यकाबाट बाहिरिने यात्रु बढेसँगै अधिकांशले टिकट नपाएको गुनासो

विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्कुल कलेजहरू बन्द गरेपछि अहिले काठमाडौं उपत्यका बाहिरिने यात्रुहरूको संख्या वृद्धि भएको छ । देशका विभिन्न ठाँउबाट पढाइ र कामका लागि काठमाडौं उपत्यका आएका अधिकाशं मानिसहरू यतिबेला आफ्नो घर फर्किने क्रम बढेको छ ।

पछिल्लो समयमा काठमाडौं भित्रिनेहरूको भन्दा बाहिरिने यात्रुहरूको संख्यामा वृद्धि भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गत मंगलबारदेखि विहीबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या करिब ३ लाख पुगिसकेको छ । महाशाखाका अनुसार तीन दिनमा २ लाख ९५ हजार ५ सय २१ जनाले उपत्यका छाडेका छन् । सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौँ उपत्यकाबाट १ लाख ८ हजार ४ सय ५८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।



उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढेसँगै यात्रुहरूले टिकट नपाएको गुनासो गरिरहेका छन् । कतिपयले घर जानलाई टिकट नपाएको त कतिपयले बढी भाडा तिरेर घर जानु पर्ने बाध्यता रहेको गुनासो गरेको छन् । काठमाडौंबाट घर जान लागेका जनकपुरका राम यादव भन्छन् ‘घर जानलाई एक जना साथी र म यहाँ (बसपार्क) आएको टिकट नै पाइएन । टिकट काउण्टरमा सोधेको त भोलि (शनिबार) मात्र पाइन्छ भन्नुहुन्छ ।’

कतिपय यात्रुहरू टिकट नपाएर निराश छन् भने कतिपय यात्रुको मुडामा बसेर जानु पर्ने बाध्यता छ । सुर्खेतका रमेश खड्का र उनका साथीहरू सिट नपाउँदा मुडामा बसेर भए पनि जान लागेका छन् । रमेश भन्छन् ‘बिहानै हामीहरू घर जान भनेर आएको, टिकट नै पाइएन । सिट छैन मुडामा बसेर जाने भए मात्र छ भन्छन् काउण्टरमा । अनि अब के गर्ने ? मुडामा बसेर भए पनि जानै पर्यो ।’ अधिकाशं टिकठ काउण्टरमा टिकटको लागि बुझ्दा प्राय जसो सबै गाडीमा आज (शुक्रबार) का लागि सिट नभएको बताइरहेका थिए भने कतिपयमा त आइबार (९ गते) सम्मका लागि टिकटै नभएको बताइरहेका थिए ।

सरकार कोरोना संक्रमणबाट बच्न आवश्यक नपरेसम्म घरबाट बाहिर नजान र २५ जनाभन्दा धेरै भेला नहुन आग्रहसमेत गरिसकेको छ । कोरोनाको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गत बुधवार चलचित्र घर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, सङ्ग्राहलय, स्विमिङ पुल, मनोरञ्जनस्थल, लगायत ठाउँ आउँदो वैशाख १७ गतेसम्म बन्द गर्ने तथा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा अनावश्यक भीड हुन नदिने र सबै शैक्षिक संस्थाहरूको चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार