सुनसान युरोपका शहरहरू, सजग रहन नेपाली समूदायलाई आग्रह

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला हाल युरोपका शहरहरू पनि सिथिल बनेका छन् । युरोपको इटली, स्पेन र फ्रान्सलगायतका शहरहरूमा यसको असर ठूलो रूपमा देखिएको छ ।

यस महामारीले विश्वमा स्वास्थ्य सङ्कट र अर्थतन्त्रमा सङ्कट एकैचोटि ल्याइदिएको छ । यसको प्रत्यक्ष असर नेपाली आप्रबासी र कामदारहरूमा पनि देखिएको छ । सुनसान बनेका शहरहरूमा धेरै नेपालीहरू काम गर्नबाट बञ्चित भएका छन्, जसको प्रत्यक्ष असर नेपालीहरूको दैनिक जीवनमा परेको छ । यस परिस्थितिको सामनाको लागि नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघहरूले संयमता अपनाउन तथा अन्य सहयोगको लागि सम्पर्कमा रहन नेपाली समुदायलाई आग्रह गरेको छ । उता नेपालले नेपाली नागरिकलाई पनि नेपाल यात्रामा रोक लगाएकोमा नेपाली समूदायले दुःख व्यक्त गरेका छन् ।



हाल संक्रमणको मात्रा र जोखिमहरू बढ्दै गएकोले युरोपमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सार्वजनिक स्थानमा हुने विभिन्न सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ मललगायत भिडभाड हुने ठाउँहरू, बजार, पार्क, जमघट हुने स्थानहरूमा अत्यावश्यक काम बाहेक नजान नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघहरूले अनुरोध गरेका छन् ।

यसैगरी सार्वजनिक यातायातहरू मेट्रो, ट्रेन, बसलगायतका साधनहरू सकेसम्म कम प्रयोग गर्नु हुन र स्वयं आफ्नो, परिवारको अनि आफन्तको स्वास्थ्य स्थितिमा सजग रहन र समूदायलाई पनि सचेत गराउन समेत अनुरोध गरिएको छ । यसैबीच पोर्चुगलमा रहेका कुनै पनि नेपालीलाई कोरोना भाइरसको संक्रमण वा आशंका वा कुनै संकेत वा समस्या देखिएमा आवश्यक सहयोग जस्तो एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरू दिने जस्ता कामहरूमा मद्दत पुर्याउन एनआरएनए पोर्चुगलले सहयोग समन्वय (हेल्प डेक्स) समिति पनि गठन गरेको छ ।

सम्बन्धित समाचार